डि आई डी को उत्कृष्ट १० मा नेपाली निर्मल

डि आई डी को उत्कृष्ट १० मा नेपाली निर्मल

शुक्रबार भदौ २५ , २०७२

भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) मा नेपाल, नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल भएका छन् । पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मल वैसाख देखि डीआईडी प्रतियोगितामा सषर्घ गरिरहेका छन् ।
बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको यस प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुँदै आएको छ । उत्कृष्ट दशपछि छनौट हुनलाई भोटिङको साहरालिनुपर्ने छ । निर्मललाई भोटिङ गर्न DID5 space NIR send to ५७५७५ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा नेपालबाट पनि गर्न सकिनेछ । त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिनेछ । जसको लागि www.zeetv.com/nir  लेखेर अनलाईन भोटिङ गर्न  सकिनेछ ।
भोटिङ गर्ने समय शनिवार राती नौ १५ देखि बुधबार साँझसम्म हुनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिनेछ । आफ्नो छोराभन्दा निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न उनका वुवा शेरवहादुरले सवैलाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘निर्मलले जित्यो भने नेपालकै शान उच्च हुन्छ ।’ यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।