हामीले केमा चित्त बुझाउने ?

हामीले केमा चित्त बुझाउने ?

बुधबार भदौ २३ , २०७२

सद्भाव बनेको छैन अझै । तर, सम्बन्ध बिग्रेको पनि छैन थारु र पहाडी दुई समुदायमा । आन्दोलनकै क्रममा कैलाली र बर्दिया दुवै ठाउँमा प्रहरी मारिनु सायद राज्यमाथिको प्रहार होला । तर मारिने धेरैजसो प्रहरीको आर्थिक स्तर एकदमै नाजुक छ । परिवार गुम्नुको पीडा परिवारलाई नै थाहा होला । न ड्यूटीमा खटाउनेलाई नत प्रहार गर्नेलाई ।

- सुमित्रा भट्टराई

विभिन्न राजनीतिक दलले आह्वान गरेको बन्दले महिना दिन नाघिसक्यो । कर्फ्यू लागेकै १५ दिन भयो कैलालीमा । अझै अनिश्चित निर्णयमा छ प्रशासन । कर्फ्यू कहिले खुकुलो पारिन्छ ? प्रश्न गर्दा प्रशासनबाट हाल जारी थरुहट/थरुवान संघर्ष समितिका आन्दोलनका कार्यक्रम रोकिनुपर्ने भन्ने उत्तर आउँछ । यता थरुहटको कार्यक्रम कहिले रोकिन्छ भन्दा प्रश्न सरकारलाई सोझिन्छ ।

उता विजयकुमार गच्छदारसहितका मधेसी नेताहरु वर्तमान संविधानसभाबाट बाहिरिएपछि आन्दोलनका थप कार्यक्रम आउने संकेत देखिन्छ । त्यसैले न छिटै आन्दोलन फिर्ता लिने संकेत देखिन्छ, न त प्रशासनले जारी गरेको कर्फ्यू खुल्ने सम्भावना ।

धनगढीबासी कर्फ्यू हटाएर बरु निषेधाज्ञा जारी गर्न माग गर्छन् । टिकापुरको पीडा झन् ठुलो छ । धनगढीमा हाल ३ घण्टा कर्फ्यू छ भने टिकापुरमा २४ घण्टामा दिनको ५ देखि ६ घण्टा कर्फ्यू खुकुलो पार्ने गरेको छ प्रशासनले ।

त्यसैकारण टिकापुरमा बिद्यालयहरु बन्द भएको महिना दिन नाघीसक्यो । यसै आइतबार देखि धनगढीमा भने बिहानको समयमा बिद्यालयहरु सञ्चालन भइरहेपनि टिकापुरमा निमावि भन्दा मुनिका कक्षाहरु अझै सञ्चालन हुन सकेका छैनन् । यो अवस्थामा बिद्यालय पढ्न पठाउने आमाबुवाको मन समेत ढुक्क छैन पढ्न गएका छोराछोरी सकुसल फर्किन्छन् कि फर्किदैनन् भन्नेमा । शैक्षिक सत्र सुरु हुने बेलाको यो बन्दले यसपटककोे परिक्षामा कस्तो नतिजा आउला त ?

धनगढी र टिकापुर दुवै नगरपालिका हुन् । व्यापारिक केन्द्र र क्षेत्रीय अस्पताल भएको धनगढीमा जनचाप टिकापुरको भन्दा अलि बढि छ । ९ जिल्लाकै जनता बिभिन्न कामकाज बोकेर धनगढी आईपुग्छन् । तर दिनको मध्य समयमा प्रशासनको प्रशासनले जारी गरेको कर्फ्यूले कतिको कामकाज ब्रेक गरिदिन्छ ।

महिनादिनदेखि यातायात ठप्प छन् । राजधानीमा सानो काम पर्दा दुईवटा अवस्था झेल्नुपर्छ । कि ६/७ हजार रुपैया तिरेर हवाई टिकट किनेर यात्रा तय गर । या जिन्दगी दाउमा लगाएर पशुपतिनाथको नाम जप्दै स्र्कटिङ्मा बसको यात्रा गर । यात्रुको चाप बढेकाले टिकट भनेकै समयमा हवाई टिकट पाईंदैनन् । महंगो हुनाले सबैको पहुंचमा पनि छैन ।

अब बसयात्राको त कुरै नगरौँ । तराईंका जिल्ला (बर्दिया, बाँके, दाङ्ग, नवलपरासी, कपिलवस्तु र रुपन्देही) पार गरेर चितवन पुग्दासम्म आधामुटु बाँकी रहन्छ । जसोतसो धादिङ्ग कटेपछि बल्ल आईपुग्छ राजधानी । पुग्न त जसोतसो पुग्छन् फर्किने बेला उही भरोसाबिनाको यात्रा । गोजी खर्चमात्र हुनेहरुलाई बीचमै गाडी रोकिदिए झन् समस्या ।

 खै यो पाराले कति समय कटाउने हो ? टिकापरमा थरुहटको कार्यक्रममा प्रहरीहरु मारिएपछि छेउछाउमा रहेका थारु गाउँमा त्रास फैलिएको छ । कतिबेला गस्तीमा आउने प्रहरीले समातेर लैजान्छ भन्ने त्रासले जुलुसमा नगएकै कतिपय युवा र लोग्ने मानिसहरु घरमा छैनन् । गाउँका मुखिया (भलमन्सा) झन् गाउँमै बस्दैनन् । घरमा लोग्ने मानिस नभएपछि महिलाहरु सुरक्षित महसुस गरिरहेका छैनन् । यसबेला टिकापुर र आसपासका क्षेत्रमा बस्नेलाई जनयुद्धकै झल्को महसुस गराएको छ । भनेको समयमा बजारमा निस्कन पाउँदैनन् । जंगलमा गएर बटुलेका सालका पात र दाउरा बेचेर नुनतेल जोहो गर्नेको दुईछाकको अवस्था के होला यतिबेला ? बाँच्न समेत मुस्किल भएको यसबेला कताको के अधिकार खोजुन् ।

यी सबै समस्याको जड पनि सरकार नै हो । अनि समाधान गर्ने निकाय पनि सरकार नै । बेलैमा संविधान जारी नगर्दाको परिणाम हो यो समय ।

 

थारु अनुहार भएका कारण ड्यूटीमै रहेका प्रहरीले समेत अभद्र व्यवहार गरिदिएको गुनासो छ धेरैको । केन्द्रले राम्रो व्यवहार गर्नेबारे जतिसुकै अनुशासनका पाठ पढाए पनि तल्लो निकायमा पुगुन्जेल अनुशासन आधा अवस्थामा पुग्छ र व्यवहारमा भने त्यो आधाको समेत आधा लागु हुन्छ । त्यही अघिल्लो दिन माथिल्लो निकायमा भएकोे सहमति तल्लो स्तरमा नस्वीकार्नुको परिणाम हो भदौ ७ ।

सद्भाव बनेको छैन अझै । तर, सम्बन्ध बिग्रेको पनि छैन थारु र पहाडी दुई समुदायमा । आन्दोलनकै क्रममा कैलाली र बर्दिया दुवै ठाउँमा प्रहरी मारिनु सायद राज्यमाथिको प्रहार होला । तर मारिने धेरैजसो प्रहरीको आर्थिक स्तर एकदमै नाजुक छ । परिवार गुम्नुको पीडा परिवारलाई नै थाहा होला । न ड्यूटीमा खटाउनेलाई नत प्रहार गर्नेलाई ।

आन्दोलनरत् पक्षहरु आन्दोलन गर्नुस् अधिकार माग्नुस् तर संवेदनहिन नबन्नुस् । हिजो यहाँहरुले गरेको आन्दोलनको बेला गरिएको दुश्प्रयासको नतिजा आज गाउँमा हुने थारु समुदायले भोग्नुपरिरहेछ । मार्न उक्साउने को थियो थाहा छैन, मार्ने को हो थाहा छैन तर त्रास छ गाउँमा ।

केही समय अघिमात्रै सिरिया छोडेर युरोप भाग्ने क्रममा ढुंगा पल्टिँदा ज्यान गएका बालकको तस्वीरले संसार रुवायो । टिकापुर घटनामा मारिने बालक टेक बहादुर साउँदको मृत्यू झन् घतलाग्दो छ । आफ्नो नाम समेत उच्चारण गर्न नजान्ने बालकले संघियताको सिमानाको कारण ज्यान गुमाउनु पर्यो । न त्यसमा उनी दोषी थिए नत उनको परिवार नै ।

भोलि यदि हामीकहाँ द्धन्द चर्किएर ज्यान जोगाउन भाग्नु परेपनि खुला नाका भएका कारण छेउको उत्तर प्रदेश र विहार मात्रै पुग्छौँ । दिल्ली पनि दुर छ, युरोप र अमेरिका सिमा भएको छैन हाम्रो देश । चीन पस्न ग्रेटवाल अफ चाइना ले छेक्छ । उत्तर प्रदेश र विहारको हालत पनि उस्तै नै हो पैसा बोकेर गएमात्रै पाल्छन् ।

यी सबै समस्याको जड पनि सरकार नै हो । अनि समाधान गर्ने निकाय पनि सरकार नै । बेलैमा संविधान जारी नगर्दाको परिणाम हो यो समय । हो माग धेरै छन तर संविधान जारी गर्ने समय जति ढिला भइरहेछ माग उति नै बढिरहेछन् ।

थ्रेसहोल्डको व्यवस्था नहुँदा विभिन्न दल दर्ता भए/जन्मिए, देशका नारा जमेनन् पार्टीका नारा जमे । अब पनि संविधानबाट थ्रेसहोल्ड हटाउने महानुभावहरु चेतना भया । आउँदो कति पुस्तालाई अन्धकार भविष्य उपहार दिने हो आज राम्रो संविधान नलेखेर । म झुक्दै नझुक्ने नेपालको छोरो भन्ने बोलको गीत खुबै सुहाउँछ हामीलाई । न हामीमा सहने शक्ति छ । न अर्काको माग सुन्ने क्षमता नै छ । आफ्नै दलको माग पूरा गर्नुपर्‍या छ, आफैलाई ठूलो बन्नु पर्‍या छ ।

कुनै कार्यक्रममा परिचय दिने बेलैदेखि सुरु हुन्छ । म फलाना…. फलानो पार्टीको यो । मेरो पार्टीले केके गर्‍यो, कति आन्दोलन गर्‍यो र हाल के गर्दैछ । सायद त्यो ठाउँमा म नेपाली भन्ने भाव बोकेर त्यस्तै विचार पस्किएको भए आज नेपाली यी काला दिनहरुका भागीदार त बन्नु पर्ने थिएन ।

नुन तेलको जोहो गर्न नसक्ने रिक्सा चलाएर गुजारा गर्ने परिवारदेखि हुने खाने परिवार सम्म पीडित बनेका छन् आज संघीयताको लडाईमा । एउटै जातमा अलि जान्ने बुझ्नेलाई अधिकार नपाएर चित्त दुखेको छ भने केहि थाहा नहुनेलाई दुई छाक खाना खान नपाउँदा चित्त दुखेको छ । दैनिक यसरी कर्फ्यू लगाउँदा पीडामा पिडा थपिएको छ ।

दैनिक कर्फृयू लागेका कारण काम नहुँदा माम नपाएका भोका पेटहरुलेे नयाँ संविधानको कस्तो खुसीयाली मनाउँलान् त । तिज दैलोमा आईपुुग्दा गाउँघर सुनसान छ । नजिकिएको दशैँमा घर फर्किन डराउँछन् परदेशी । चाडबाडमा परिवारका सदस्य भेट हुने नहुने मै टुंगो छैन ।

निजाकति सेवातिर सर्वोत्कृष्ट कर्मचारी भेटिन छोडे । कोही एउटै माग लिएर कयौँ पटक अनसन बसिरहेछन् । खेतबारी बाँझै छोडी मनमा असन्तोषका रेखा बोकेर परिवारको छाक टार्न दैनिक विदेश उड्ने युवावर्गको लर्को उस्तै छ । अझ फ्री भिसा फ्री टिकटको अफर आउँछ बेलाबेलामा । यही समयमा पनि नहुनेलाई मात्र हो काल, पहुँच हुनेलाई त मालामाल छ । अब जवाफ चाहियो सरकार, हामीले केमा चित्त बुझाउने ?